" />
डेब्यु फिल्म हिट भएपछि धीरज मगरले पछाडि फर्केर हेर्नुपरेन । यस अर्थ उनी एक भाग्यमानी अभिनेता हुन् । ‘इन्टुमिन्टु लण्डनमा’ सफल भएसँगै धीरजको धैर्यता आजपर्यन्त छ । झट्ट हेर्दा कोरियन लुक्सका यी ठिटा पछिल्लो समय घरेलु फिल्मका व्यस्त कलाकारमध्ये पर्छन् ।
‘बाबरी’ हुँदै धीरजको पछिल्लो डान्स ड्रामा ‘ज्याकी : आई एम ट्वान्टी वान’ वैशाख २१ गते रिलिजको तयारीमा छ । झण्डै ६० वर्ष लामो इतिहास बोकेको नेपाली फिल्ममा सम्भवतः पहिलोपटक नृत्यको जनरामा आधारित फिल्म बनेको छ । तपाईंले हलिउड र भारतीय फिल्ममा डान्स ड्रामा प्रशस्तै हेर्नुभएको होला । तर यो फिल्ममा चाहिं नेपाली परिवार र समाजको टोन मिसाइएको छ । लाहुरे परिवारमा जन्मिएर लाहुरे नै हुनुपर्छ भन्ने जुन भाष्य निर्माण भएको छ, त्यसलाई अवज्ञा गर्दै धीरज अभिनयमा होमिएका हुन् । लगभग फिल्मको कथा उनको जीवनको निकटजस्तो पनि देखिन्छ । यसलाई धीरज स्वयं स्वीकार्छन् । सानैदेखि बाबुलाई हेर्दा देखिने लाहुरेको रवाफले धीरजलाई पनि त्यता तान्यो । उनले लाहुरे बन्ने लिडरसिप ट्रेनिङ पनि लिए ।
तर जीवनले उनलाई कलाकार बनाइदियो । कहिल्यै अभिनेता बन्ने सोचेनन् । हुन सक्छ, यही कारण उनी बेलायत छाडेर नेपाल आइपुगेका छन् । अनलाइनखबरसँग गफिंदा धीरजले पटक-पटक फिल्मको कथालाई आफ्नो ‘रियालिज्म’सँग जोड्ने प्रयास गरे । फिल्ममा उनले धराने केटाको भूमिका निर्वाह गरेका छन् । जसको सपना डान्सर बन्नु हो । तर समाज र परिवारको दबाब उसलाई लाहुरे बनाउने छ ।