" />
सिंगल लेनको साँघुरो सडक, खाल्डाखुल्डी र मृत्युमार्गको उपनामले चिनिने कर्णाली राजमार्गका मोडहरू हेर्दा साना जीप मात्रै गुड्नुपर्ने हो । तर, यहाँ साना–ठूला जस्तासुकै गाडी पनि गुड्ने गरेका छन् ।कर्णाली राजमार्ग आफैंमा महत्वपूर्ण मार्ग हो । यसले नेपाली भाषाको उद्गम थलो जुम्ला हुँदै देशकै ठूलो रारा ताललाई जोड्छ । धार्मिक र पर्यटकीय रूपमा पनि निकै महत्वपूर्ण मानिएको यो राजमार्गमा दैनिक सयौं सवारी साधन गुड्छन् ।
खासमा कर्णाली विकासको आयाम पनि सडकले नै ल्याएको पाएँ र दुर्दशा पनि सडकले नै ल्याएको रहेछ । सुरुवाती चरणमै कर्णाली राजमार्ग दुई लेनको हुनुपर्ने थियो । यसमा राज्यपक्षले दूरदर्शी नजर राखेन, जसले गर्दा धेरै दुर्घटना हुने र बर्सेनि सयांैको ज्यान जाने समस्या भइरहेको छ । २०४२ सालमा पहिलो पटक कर्णाली राजमार्गको रेखांकन गरी सर्भे गरिएको थियो । करिब सात वर्षपछि अर्थात् २०४८ सालबाट राजमार्गका लागि ट्रयाक खोल्ने काम सुरु गरियो । सुरुमा राजमार्गको ट्रयाक खोल्न मात्रै २ करोड रुपैयाँ सरकारले बजेट विनियोजन गरेको थियो । राजमार्गको ट्रयाक खोल्न नेपाल सरकारको आर्थिक अवस्थाले नभ्याएपछि २०५६ सालमा विश्व बैंकले सडकमा हात हाल्यो ।
केही समय विश्व बैंकले सडकको ट्रयाक खोल्ने कामलाई निकै तीव्रताका साथ अघि बढाएको थियो । तर, २०५८ सालपछि सशस्त्र द्वन्द्वका कारण विश्व बैंकले निर्माणको कामलाई पूर्णता दिन सकेन । विकल्पका रूपमा विश्व बैंक र नेपाल सरकारको समन्वयमा ट्रयाक खोल्ने कामको जिम्मा नेपाली सेनालाई दिइयो ।