" />
बक्स अफिस तथ्यांकलाई आधार मान्दा दयाहाङ राई र मिरुना मगरको जोडी अहिलेको नेपाली फिल्मको सबैभन्दा हिट ‘स्क्रिन कपल’ हो । २०७९ सालमा रिलिज भएको ‘कबड्डी ४’ ले घरेलु बक्स अफिसमा २२ करोड रुपैयाँ हाराहारीमा ग्रस कमाएको हिसाब छ, जुन फिल्ममा यी दुईको शीर्ष भूमिका थियो ।
यी दुईले जोडी बाँधेको ‘जारी’ अहिले आक्रामक ढंगले प्रदर्शन भइरहेको छ । बक्स अफिस ट्रेण्डलाई पछ्याउने हो भने ‘जारी’ले कम्तीमा बक्स अफिसमा दुई अंकको कमाइ गर्ने अनुमान गर्न सकिन्छ । एकपछि अर्को हिट फिल्म दिइरहेको दयाहाङ र मिरुनाको यो ‘सिनेम्याटिक केमेस्ट्री’ आगामी फिल्म ‘नांगो गाउँ’मा पनि देख्न सकिनेछ । अहिले छायांकन भइरहेको ‘नांगो गाउँ’मा यी दुईलाई पुनः ‘स्क्रिन कपल’को रुपमा देख्न पाइनेछ । यदि यो फिल्म हिट भए दयाहाङ-मिरुना जुगलबन्दीको ‘ह्याट्रिक’ फिल्म बन्नेछ । यी दुईलाई पर्दामा जोडी बाँध्ने श्रेय चाहिं फिल्म निर्माता तथा निर्देशक रामबाबु गुरुङलाई जान्छ । कबड्डीपछि दर्शकले यो जोडीलाई हेर्न रुचाइरहेको रेस्पोन्स आफूले पाएको र यसले घरेलु फिल्मलाई पक्कै राम्रो गरेको निर्देशक गुरुङको कथन छ ।