" />
काठमाडौं । नेपालभरका बालकालिका गत पाँच हप्तादेखि खोपबाट बञ्चित छन् । कोरोना संक्रमण फैलिन नदिनका लागि चैत्र ११ गतेबाट गरिएको लकडाउनले खोप कार्यक्रम प्रभावित भएको हो । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लकडाउनको समयमा पनि बालबालिकालाई दिइने नियमित खोप कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । तर त्यो कार्य अझैसम्म सुचारु भने हुन सकेको छैन ।
बालबालिका खोपबाट बञ्चित भए बाल मृत्युदर बढ्ने जनस्वास्थ्यविद् डाक्टर समीरमणि दिक्षितले बताएका छन् । ‘वर्तमान समयमा बाल मृत्युदर घट्दै गएको स्थिति हो,’ उनले भने, ‘तर बालबालिकालाई नियमित रुपमा दिइने खोप कार्यक्रम समयमा सञ्चालन भएन भने मृत्युदर बढ्न सक्छ ।’
बालबालिकालाई बीसीजी, पोलियो, दादुरा लगायतका खोप कार्यक्रम समयमा सञ्चालन गर्न नसकेमा नियन्त्रणमा आएका रोग पनि नेपालमा भविष्यमा फेरि देखिन सक्ने खतरा उनी औंल्याउँछन् । त्यसैले ‘बालबालिकालाई नियमित रुपमा लगाउने खोप नलगाएर नतिजा प्रतिकूल बन्न पुगेको अवस्थामा अवस्था डोनरहरुले सहयोग नगर्ने अवस्थासम्म सृजना हुन सक्ने’ उनी बताउँछन् ।
‘बालबालिकाको सम्पूर्ण खोप कार्यक्रम सञ्चालन नहुँदा दिगो विकासमा समेत भविष्यमा असर पुग्ने भएकाले कोभिड–१९ को त्रास भएपनि सावधानी अपनाएर छिटै खोप कार्यक्रम सञ्चालन गर्नुपर्ने’ डाक्टर दिक्षित बताउँछन् ।
उनका अनुसार ‘अहिले प्रति १ हजार जन्मिएका नवजात शिशुमध्ये २८ दिनसम्मका नवजात शिशुको मृत्युदर ६० प्रतिशत घटेको अवस्था छ ।’ ‘यो स्थितिमा कोभिडका कारण अवरुद्ध हुन पुगेको खोपकार्यक्रमलाई स्रोत साधन जुटाएर छिट्टै अघि बढाउनुपर्ने’ उनको भनाइ छ ।
‘विश्वमा पोलियो उन्मुलनको अन्तिम चरणमा पुगेको छ । तत्काल दिनुपर्ने स्वास्थ्य सेवाहरु तथा पोलियोको खोप बच्चाले समयमा नपाएको खण्डमा नेपालमा पनि खतराको घण्टी बज्न सक्ने’ उनको चेतावनी छ । त्यसैले ‘देशमा जस्तो परिस्थिति आएपनि बालबालिकाको खोप कार्यक्रमलाई रोक्न नहुने, त्यसलाई निरन्तरता दिनुपर्ने’ उनको सुझाव छ ।