" />
काठमाडौं । लकडाउनका कारण भारतीय क्वारेन्टाइनमै आमाको किरिया बस्न बाध्य दार्चुला शैल्यशिखर नगरपालिका–१, भलाँचका वासुदेव भट्टलाई आज नेपाल ल्याइएको छ । जिल्ला प्रशासन कार्यालय, दार्चुलाको पहलमा भट्टलाई आइतबार दिउँसो नेपाल ल्याइएको हो ।
भट्टलाई धार्चुलास्थित भारतीय क्वारेन्टाइन स्थलबाट आइतबार दिउँसो १ः३० बजे नेपाल ल्याइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।
भट्टलाई अहिले स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल दार्चुला लगिएको छ । उनलाई घर पठाउने या अस्पतालमै राख्ने विषय उनको र्यापिड टेस्टको नतिजापछि टुंगिने प्रजिअ पौडेलले बताए । ‘जिल्ला अस्पतालमा भट्टको र्यापिड डाइग्नोस्टिक टेस्ट गरेका छौँ । रिपोर्ट नेगेटिभ आएमा आएमा उहाँलाई आजै घर पठाइने छ,’ प्रजिअ पौडेलले भने ।
रिपोर्ट पोजेटिभ आएमा भने अस्पतालकै आइसोलेसनमा राखेर उपचार गरिने उनले जानकारी दिए ।
रोजगारीका लागि भारत गएका शैल्यशिखर नगरपालिका–१ का भट्ट लकडाउनका कारण धार्चुलास्थित क्वारेन्टाइनमा आश्रय लिइरहेका थिए । यही बसिरहेका बेला केही दिनअघि आमाको मृत्यु भएपछि उनी त्यही काजकिरिया बसेका थिए । भट्टलाई काजकिरियाका लागि नेपाल ल्याउनुपर्ने चौतर्फी दबाब परेपछि प्रशासनको पहलमा आइतबार ल्याइएको हो। लकडाउनपछि दार्चुलापारि धार्चुलामा पाँच सय ५० भन्दा बढी नेपाली रोकिएका छन्।