" />
काठमाडौं। चाडबाड नजिकिएसँगै उपत्यकाका घर घर डुलाएर मह बेच्ने सक्रिय छन्। यसरी बेचिने मह कस्तो हुन्छरु डुलाउनेबाट खरिद गर्नेहरूले आफू ठगिएको गुनासो सम्बद्ध निकायमा नगरे पनि कृत्रिम तरिकाले मह बनाएर राजधानीमा व्यापारको नाउँमा ठगी गर्नेहरू उपत्यकामा सक्रिय रहेको खुलेको छ।
काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीले सोमबार गोंगबुको एउटा होटलमा छापा मार्दा यस्तो तथ्य बाहिर आएको हो। नक्कली मह बनाउने सामानसहित दुई जना पक्राउ परेका छन्। गोंगबु मित्रनगरको होटल रेड डाइमण्डबाट टोलीले उनीहरूलाई नियन्त्रणमा लिनुका साथै नक्कली मह बनाउने सामान उल्लेख्य परिमाणमा बरामद गरेको छ। मह भनेर बेच्ने गरिएको पदार्थ कोठामै तयार गरेर लैजाने गरिएको खुलेको छ।
होटलको कोठा ३०२, ३०४ र ३०६ गरी तीनवटा कोठामा नक्कली मह बनाउने सामान बरामद भएको हो। अनुगमन टोली पुग्दा व्यापारी मह बेच्न बाहिर गएको बेला परेको थियो। अनुगमन टोलीका अनुसार नक्कली मह बनाएर डुलाउँदै हिड्नेले प्रतिकेजी ८ सय रुपैयाँ बिक्री गर्दै आएका छन्।
कोठामा भेटिएको पोकाहरूमा बाक्लो र च्यापच्याप हुने तरल पदार्थमा चाका डुबाइएको पाइएको छ। साथै उक्त कोठाबाट ९ किलो १८६ ग्रामका २८ पोका सामान र १३ टिन माहुरीको चाकासहित अन्य सानातिना धेरै पोका बरामद भएको छ। यी पदार्थको जाँच गरिने भएको छ।
टोलीले छापा मारेपछि होटल सञ्चालक लीलाबल्लभ पराजुलीले आफूसँग मह व्यापारीको सम्पर्क नम्बर नभएको दाबी गरेका छन्। उनका अनुसार मह बनाएर बेच्न सक्रियमध्ये असोज २० मा आएका दुई जनाले कोठा लिएका थिए।
असोज २२ मा थप ४ जना र असोज २५ मा ६ जनासहित कोठामा बस्न थाले। उनीहरुले आफूलाई मह व्यापारी भन्दै कोठामा बसेर बिहान निस्कने र बेलुका बास बस्न आउने गरेको पराजुलीले बताए।
उनीहरु पुराना व्यापारी भएको र यसअघि गत पुस–माघ महिनामा आएर व्यापार गरेर फर्केको खुलेको छ। होटलमा उनीहरुको नाम–थर भएको कुनै प्रष्ट विवरणको रेकर्ड छैन। ुपहिले पनि आउने जाने गरेकाले परिचय पत्र खोजेनौं,ु पराजुलीले भने।
उनीहरु महोत्तरीको भएको खुलेको छ। अनुगमन टोलीले महानगरीय प्रहरी वृत्त बालाजुको सहयोगमा होटलको निगरानी थालेको र अहिले २ जनालाई नियन्त्रणमा लिइएको टोलीले जनाएको छ।
उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले भने ुयो सक्कली काम हुँदै होइन। लेबलबिनाका सामान बेच्नु सरासर गैरकानुनी हो।त्यसमा पनि मह शतप्रतिशत नक्कली छ।’ यसमा संलग्न सबैलाई कारबाही हुने उनले बताए।
महानगरको कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीकाले महको चाका मैदाको भएको र यसमा अन्य रसायन के के प्रयोग गरेका छन् भन्ने अध्ययन भइरहेको बताएका छन्। अनुगमन टोलीले होटलका ३ वटा कोठामा भएका सामान बटुलेर राख्दै एउटै कोठामा ताला लगाइदिएको छ। नक्कली मह कारोबार सम्बन्धी थप अनुसन्धान भइरहेको अनुगमन टोलीले जनाएको छ।