" />
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीसँगै वैदेशिक रोजगारीका लागि विदेशिने युवाको संख्या विगतको तुलनामा दुई तिहाई घट्यो ।
विदेश जानेभन्दा फर्किनेको संख्या करिब चार गुणा चार गुणा बढी भएपछि भविष्यमा नेपाल भित्रिने रेमिट्यान्समा असर पर्ने देखिएको छ ।
अर्थविद्हरुका अनुसार विदेशिने र फर्किने श्रमिकको असन्तुलनले भविष्यमा एकैपटक रेमिट्यान्स आप्रवाहमा गिरावट आए समग्र अर्थतन्त्र समस्यामा पर्नसक्ने जोखिम छ । अहिले नै मुलुकको आर्थिक नीतिलाई रेमिट्यान्सको निर्भरताबाट बाहिर ल्याउने गरी आन्तरिक रोजगारी सिर्जना र उत्पादकत्व वृद्धिमा केन्द्रित गर्नुपर्ने उनीहरुको मत छ ।
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७७÷०७८ को फागुन १४ गतेसम्म (साढे ७ महिना) २ लाख ७८ हजार ३५४ नेपाली वैदेशिक रोजगारबाट स्वदेश फर्किएका छन् । यो अवधिमा रोजगारीका लागि विदेश जानेको संख्या ७२ हजार १७८ जनामा सीमित छ ।
यो अवधिमा ४५ हजार १२४ जना पुनः श्रम स्वीकृति लिएर उडेका छन् । २३ हजार ९९६ जनाले नयाँ स्वीकृति पाएका छन् । २ हजार ६२६ जना वैधानिकीकरणमार्फत विदेशिएका छन् । विदेशिने युवाको यो संख्या गत आवको भन्दा करिब ६५ प्रतिशत कम छ ।
हाल औसत दैनिक साढे ३२० नेपाली श्रमिक विदेश गइरहँदा औसत १ हजार २३७ श्रमिक स्वदेश फर्किरहेका छन् । विगतमा विदेशबाट फर्किनेभन्दा विदेशिनेको संख्या बढी हुने गरेको थियो ।
अहिले विदेशिने श्रमिक घट्दा विदेशमा करार अवधि सकेर फर्किने क्रम नियमित बनेको छ । विदेशमा कार्यरत नेपालीको संख्या घट्दै जाँदा रेमिट्यान्स आय खुम्चिदै जाने निश्चित छ ।
विदेशिने र स्वदेश फर्किने श्रमिक संख्याको असन्तुलनले निकट भविष्यमा नै रेमिट्यान्स आगमनमा गम्भीर प्रभाव पर्ने विश्लेषण अर्थविद्हरुको छ ।
वैदेशिक रोजगारीका लागि नेपाली युवा खासगरी मलेसिया र खाडी जाने लहर दुई दशकयता चलिरहेको छ । देशभित्र रोजगारी नभएपछि विदेशिने धेरै युवाको अन्तिम विकल्प बन्ने गरेका देशहरुमा अहिले श्रमिकको माग न्यून छ ।
महामारीपछि विश्वव्यापी अर्थतन्त्रमा आएको समस्या र विदेशी श्रमिक लैजाँदा हुने स्वास्थ्य जोखिमका कारण श्रम गन्तव्य देशहरुले ठूलो संख्यामा श्रमिक आपूर्ति रोकेका छन् ।
वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दहालका अनुसार मलेसियाले नयाँ मागमा श्रमिक लैजान थालेको छैन । साउदीमा केही माग भएपनि प्रशासनिक जटिलताका कारण श्रमिक आपूर्ति प्रभावित छ । यूएईका निजी क्षेत्रले विदेशी श्रमिक लिने अनुमति पाएको छैन । कतार, ओमान र बहराइनमा श्रमिकको माग न्यून छ ।
श्रम गन्तव्य मुलुकहरुको यस्तो परिदृश्यले विदेशिन चाहने श्रमिक देशभित्रै रहने, करार अवधि सकिएकाहरु फर्किरहने र रेट्यिान्स आयमा त्यसको प्रभाव पर्ने जोखिम रहेको बताउँछन् अर्थशास्त्री डा. पोषराज पाण्डे बताउँछन् । फर्किने युवाले देशभित्र रोजगारी नपाए बेरोजगारी र गरिबीको दुष्चक्रले गाँज्ने जोखिम उत्तिकै रहेको उनको भनाइ छ ।
‘मलेसिया र खाडीको अर्थतन्त्रको पुनर्उत्थानसँग हाम्रा श्रमिकको अवसर र आयआर्जन जोडिएको छ,’ उनले भने, ‘त्यहाँ समस्या रहिन्जेल हाम्रो श्रमिकको आय प्रभावित हुन्छ, जसको सोझो असर रेमिट्यान्समा पर्छ ।’
सरकारले रेमिट्यान्सको निर्भरताबाट मुक्त हुने नीति नल्याए अर्थतन्त्रमा असर पर्ने डा. पाण्डे बताउँछन् ।