" />
काठमाडौं । मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीमा शुक्रबार मान्छेहरुको लामो लाइन लाग्यो । कोरोनाको संक्रमण रोक्न गरिएको लकडाउनका कारण हातमुख जोड्न मुस्किलमा परेका परिवारका सदस्यहरु कोरोनाको जोखिमको बेवास्ता गर्दै राहतका लागि लाइनमा बसे ।
सरकारले देशभरका गरिब, विपन्न, मजदुर वर्गलाई राहत बाँड्ने निर्णय गरेको छ । सोही निर्णयअनुसार सबै स्थानीय तहहरुले लकडाउनबाट प्रभावितहरुको तथ्यांक संकलन गर्दै राहत वितरण गर्दै आएका छन् ।
मध्यपुर थिमी नगरपालिकाको नगर समिति सदस्य सूर्यमान मुस्यानका अनुसार एक नम्बर वडामा करिब चार सय जना गरिब विपन्नको सूचीमा सूचिकृत भएका छन् । तर, शुक्रबार तीन सय जनालाई मात्रै राहत बाँडिएको छ ।
स्थानीय युवाहरुको सक्रियताका बीच पनि सबैलाई शुक्रबार नै राहत दिन सम्भव नभएपछि कतिपयको नाम मात्र टिपेर फर्काइएको छ । राहत पाउने आशामा टन्टालपुर घाममा उभिएकाहरु नाम टिपाएर रित्तो हात फर्किन बाध्य हुँदा निराश देखिन्थे ।
मध्यपुर थिमी नगरपालिकाका ९ वटा वडा छन् । हरेक वडामा राहत बाँड्नका लागि पाँच–पाँच लाख निकासा गरिएको छ ।
नगरपालिकाका एक जना शाखा अधिकृतका अनुसार बिहीबार वडा नम्बर २, ३ र ९ का सात सय २० परिवारलाई राहत बाँडिएको थियो ।
चार जनाको परिवारलाई १० किलो चामल, एक किलो दाल, एक पोका नुन, एक पोका तेल, २ किलो चिउरा र एउटा नुहाउने साबुन वितरण गरिएको छ ।
यसैगरी, चार जनाभन्दा बढीको परिवारलाई १५ किलो चामल, एक किलो दाल, एक पोका नुन, एक पोका तेल, २ किलो चिउरा र एउटा नुहाउने साबुन दिइएको छ ।