" />
काठमाडौं । प्रतिनिधिसभा विघटनपछि अर्थात् पुस ५ पछि प्रायः आफ्ना भाषणहरुमा प्रचण्ड, माधवकुमार नेपाल लगायत नेकपाका विभिन्न नेताहरुको चर्को आलोचना गर्ने र व्यक्तिगत लाञ्छना लगाएर समय खर्चिने गरेका छन् प्रधानमन्त्री केपी शर्माले । अहिले उनको निशानाको सूची लम्बिँदै जाँदा उपराष्ट्रपति नन्दबहादुर पुनसम्म आइपुगेको छ ।
प्रधानमन्त्री ओलीले शनिबारसम्म आइपुग्दा त्यो सूचीमा नेकपा नेतृ रामकुमारी झाँक्री र उपराष्ट्रपति नन्दबहादुर पुनको नामसमेत थपेर आफूले आलोचना गर्ने व्यक्तिको संख्या बढाएका हुन् ।
सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई मन नपरेका नेताहरुलाई होच्याउन छुद्र टिप्पणी गर्दै आएका छन् । यस क्रममा उनले नेताहरुलाई केटो, धामी, झाँक्री बैद्य, लगायतका उपमा जोडेर निशाना बनाउने गरेका छन् ।
प्रधानमन्त्री ओलीले नेकपाको प्रचण्ड–माधव पक्षले केही दिनअघि काठमाडौंमा गरेको सभाभन्दा आफ्नो पक्षले विराटनगरमा गरेकोसभा ठुलो भएको र जनता कसको पक्षमा छन् भन्ने देखिएको दावी गरे ।
सोही क्रममा प्रचण्ड–माधवलाई आफ्नो सभा हेर्न निम्ता गरेका ओलीले भने,– ‘यता आएर जनताको भेला हेर्नुस् । वैद्य, डाक्टर र झाँक्रीको पछि लागेर केही हुँदैन ।’
प्रचण्डलाई लक्षित गर्दै सभामा प्रधानमन्त्री ओलीले भने, ‘उहाँ पहिले बैद्यसँग हुनुहुन्थ्यो, बैद्यले छोड्नु भो त्यसपछि डाक्टरसँग हुनुभयो । डाक्टरले पनि छाडे, त्यसैले अहिले उहाँ झाँक्रीसँग हुनुहुन्छ । तर अब झाक्रीले उहाँलाई बचाउन सक्दैन ।’
शनिबार प्रदेश १ को विराटनगरमा आफुपक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनलाई ‘सत्य’ साबित गर्ने क्रममा संघीय सांसदसमेत रहेकी तथा कुनै बेलाकी आफ्नै कार्यकर्ता र चर्चित विद्यार्थी नेतृ रामकुमारी झाँक्रीदेखि नेकपा अध्यक्ष प्रचण्ड, सभामुख अग्निप्रसाद सापकोटा हुँदै उपराष्ट्रपति नन्दबहादुर पुन समेतको चर्को आलोचना गरे । प्रधानमन्त्री ओली त्यतिमा मात्रै रोकिएनन्, उनले सर्वोच्च अदालतमाथि पनि धम्कीको भाषा प्रयोग गरे ।
प्रधानमन्त्री ओलीले अदालतलाई देशभरका सभा र भीडलाई हेरेर विश्लेषण गरेको हुनुपर्ने भन्दैै प्रतिनिधिसभा विघटनबारे आफ्नो पक्षमा फैसला आउनुपर्ने आशय व्यक्त गरे ।