" />
काठमाडौं । विपन्न, किसान, मजदुर र श्रमिकका लागि प्रदेश २ सरकारले लकडाउनको अवधिमा विशेष प्याकेज ल्याउने तयारी गरेको छ ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेको समयमा छाक टार्न समस्या हुनेहरुका लागि प्रदेश सरकारले सुविधा प्याकेज ल्याउन लागेको हो । प्याकेजका निम्ति सबै स्थानीय तहलाई रकम पठाउने र सम्भवतः भोलिसम्ममा यसको कार्यविधि बनिसक्ने प्रदेश सरकारले जनाएको छ ।
प्रदेश सरकारले आइतबार बिहान आयोजना गरेको सर्वपक्षीय बैठकले छाक टार्न समस्या हुनेको पहिचान गर्ने निर्णय गरेको छ । यसका निम्ति सबै स्थानीय तहलाई निर्देशन दिइएको भूमी, व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साहले जानकारी दिए ।
छाक टार्न समस्या भइरहेका विपन्न, किसान, मजदुर र श्रमिकलाई खाद्यान्न उपलब्ध गराउने उनले बताए । प्रत्येक स्थानीय तहलाई रकम पठाउने निर्णय समेत भएको छ ।निर्णय अनुसार महानगरपालिकालाई २५ लाख, उप महानगरपालिकालाई २० लाख, नगरपालिकालाई १५ र गाउँपालिकालाई १० लाख उपलब्ध गराइनेछ ।
प्रदेश २ मा १ महानगरपालिका, ३ उपमहानगरपालिका सहित १ सय ३६ वटा स्थानीय तह रहेको छ ।
प्रदेश सरकारले आयोजना गरेको बैठकमा सत्तारुढका साथै प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेसका नेताहरुको समेत सहभागिता रहेको थियो । प्रतिपक्षीले पनि कोरोनाविरुद्वको लडाइँमा सरकारलाई सबै किसिमको सहयोग गर्ने प्रतिबद्वता जनाएका छन् ।