" /> पार्टी कार्यालय कब्जामा लिन खोज्दा भिडन्त – News of Global

News of Global मंगलबार, पौष १४, २०७७

गोरखा । गोरखामा साविकको नेकपा एमालेको कार्यालय नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड– माधव समूह र ओली समूह दुबैले आफ्नो नियन्त्रणमा राख्न खोज्दा मंगलबार स्थिति तनावपूर्ण बन्यो ।

गोरखा नगरपालिका–८ चाइनिजधारास्थित उक्त कार्यालयबाट मंगलबार प्रचण्ड– माधव समूहले संसद विघटनविरुद्धको प्रदर्शन सुरु गर्न लाग्दा ओली समूहका कार्यकर्ता कार्यालयभित्रै बसिरहेको थियो । दुबै समूह एकै ठाउँमा भएपछि सम्भावित झडप रोक्न बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित भएका थिए ।

प्रहरीले प्रचण्ड– माधव समूहका कार्यकर्तालाई पार्टी कार्यालयभित्र बस्न नदिएपछि प्रहरीसँग धकेलाधकेल भयो । आफूहरुलाई कार्यालय प्रवेशमा रोक लगाएको भन्दै प्रचण्ड–माधव समूह प्रहरीसँग आक्रोशित भएको थियो ।

उनीहरुले ओली समूहका कार्यकर्तालाई पनि कार्यालयबाहिर निकाल्नुपर्ने अडान लियो । यही विषयलाई लिएर भनाभन र धकेलाधकेल भएको हो । केहीबेरमा प्रचण्ड– माधव समूहका कार्यकर्ता विरोध जुलुसमा सहभागी भएपछि स्थिति साम्य भएको थियो ।

केही दिनअघि सोही कार्यालयबाट प्रचण्ड माधव समूहका कार्यकर्ताले मसाल जुलुस निकालेपछि ओली समूहका कार्यकर्ता कार्यालय कुरेर बस्न थालेका छन् ।

उक्त भवन नेकपाको पार्टी कार्यालय नभई मदन–आश्रित स्मृति प्रतिष्ठान भएको ओली समूहको दावी छ । ‘यो कार्यालय नेकपाको हो भन्ने कुनै वैधानिक आधार छैन,’ ओली समूहका केन्द्रीय सदस्य प्रेम गुरुङले भने, ‘यो मदन–आश्रिम स्मृति प्रतिष्ठान हो, एक कालखण्डमा साविक एमालेले प्रतिष्ठानसँग सम्झौता गरेर पार्टी चलाएका हौं, नेकपाको पैत्रिक सम्पत्तिको रुपमा बुझ्नु गलत हो ।’

हाल उक्त भवनमा नेपाल कम्युनिस्ट पार्टीको गोरखा नगरपालिका कमिटी र जनवर्गीय संगठनको कार्यालय सञ्चालन हुँदै आएको छ । प्रचण्ड–माधव समूहमा रहेका नेकपा जिल्ला अध्यक्ष लेखबहादुर थापा मगर अहिले पनि यो आफूहरुको पार्टी कार्यालय रहेको जिकिर गर्छन् । ‘पार्टीको विभाजन भएपनि आधिकारिक र कानूनी रुपमा घोषणा हुन बाँकी छ, त्यसैले अहिले त्यो नेकपाको नगर कमिटीको कार्यालय नै हो’ उनले भने ।

संसद विघटनको विरोधमा प्रचण्ड–माधव समूहले मंगलबार गोरखामा विरोध प्रदर्शन गरेको छ । चाइनिजधाराबाट निकालिएको विरोध ¥याली हरमटारीचोक हुदै बसपार्क पुगेर पुनः हरमटारीचोकमा आएर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई नेकपा केन्द्रीय सदस्य हरि अधिकारी, गण्डकी प्रदेशका भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रीसमेत रहेका नेकपा जिल्ला अध्यक्ष लेखबहादुर थापा मगर, नेकपाको बुद्धिजिवी संगठनका केन्द्रीय अध्यक्ष दिनेशचन्द्र देवकोटालगायतले सम्बोधन गरे । उनीहरुले संसद विघटन संविधान विपरीत भएकाले पुनस्र्थापनाको विकल्प नभएको बताए ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]