" />
सुमन पण्डित/म्यूजिक खबर
थाहा छैन के हुन्छ मन तिमी मेरो साथ हुँदा
चञ्चल यौवन छल्किदिन्छ तिमीले हेरिदिँदा
सम्हाल्नै मुस्किल झन् काउकुती लागेजस्तो
केही हराए जस्तो केही पाए पाए जस्तो
थाहा छैन के हुन्छ मन…..
मदहोस् हुन्छु म तिमीले चुमेजस्तो
अलिकति सोचेजस्तो अलिकति रमाएजस्तो
थाहा छैन के हुन्छ मन….
सिर्जनाले नै मान्छेलाई कति अब्बल छ भनेर परिचित गराउँछ । शब्द शब्दमा गहिराई खोज्दै गर्दा सिर्जनाले नयाँ नै भए पनि पुरानोको संज्ञा दिन सफल हुन्छ । माथिका सिर्जना हेर्दा पनि लाग्छ गीतकार नूतन भुसाल अब्बल गीतकार हुन् । गीतकार भूसालको यात्रा गीति लेखनमा दौडिँदैछ । कलमका निभहरुमा मसी भरिँदैछन्, अक्षरहरु कागजमा कोरिएका छन् । गीति लेखन होस् या कविता आखि शब्दको खेती नै रहेछ, त्यही शब्दको खेतीमा गीतकार नूतन भुसाल पनि लागिपरेकी छन् ।
‘गीतकार’ शब्दको पछि लाग्नेहरुसँगको यात्रालाई हेर्ने हो भने कोही वास्तविक रुपमा गीतकार बन्छु नभनीकनै आफ्ना सिर्जना पस्किने गरेका छन् । कोही जीवनमा धेरै कमाइयो अब नाम कमाउनुपर्छ भनेर गीत लेख्नेहरु छन् भने कोही गीत लेखेर आफूलाई सबै समाजमा प्रतिष्ठित हुँ भन्ने शान देखाउनका लागि पनि गीत लेखेका छन् । तर गीतकार नूतन भुसाल भने गीतकार बन्नका लागि बनेकी होइनन्, सिर्जनाको यात्रामा निरन्तर लेखन कार्य जारी राख्दा गीतकार बनेकी हुन् ।
गीतकार नूतन भुसालको लेखनको यात्रा हेर्दा उनी पहिला कवि हुन् । उनको कविताहरु स्कुले जीवनदेखि नै कोरिएका छन् । धेरै कविताहरु कोरिए, डायरी भरिए तर त्यसलाई औपचारिक रुपमा पुस्तकको स्वरुप दिनका लागि भने उनी तत्कालिन समयमा सक्षम भइनन् । स्वदेशको उतार चढावसँगै उनी परदेश लागिन् । इजरायल जस्तो मुलुकमा रहेर आफ्ना आधारभूत आवश्यकताका खातिर कर्म गरिन् । मुलुकको परिवेश अनुसार उनी पनि विदेशिनु पर्ने बाध्यतामा पुगेकी थिइन् । इजरायल पुगेपछि उनका मरुभूमिको यात्रामा सिर्जना उमार्ने काम पुनः जारी रह्यो । एकातिर ड्यूटी अर्कोतिर कविता र गीतको नशा उनीभित्र दौडिएको थियो । अझ भनौं साहित्यको सागरमा उनी थिइन् । भौतिक कर्मसँगै सिर्जनाका कर्मलाई पनि सँगसँगै लिएर अघि बढिन् गीतकार भुसालले । यसरी हेर्दा स्वदेशको स्वर्गभूमि छाडेर मरुभूमिमा सिर्जना उमार्दै गरेकी गीतकार हुन् भुसाल ।
तनहुँ स्थायी घर भएकी गीतकार भुसालले गीति लेखनलाई नै औपचारिक रुपमा ६० सालबाट सुरु गरेकी थिइन् । तर त्योभन्दा पहिला भने उनका लेखनमा कविताहरु धेरै डायरीमै थिए । इजरायलको केही वर्षको बसाइपछि उनले आफ्ना सिर्जनाहरुलाई एल्बमको रुपमा बजारमा ल्याउने काम गरिन् । पहिलो एल्बम ‘नूतन’ बजारमा ल्याइन् । म्यूजिक नेपालबाट बजारमा आएको उक्त एल्बमको सार्वजनिकपछि उनलाई झन् उर्जा थपियो । सन्तोष रजौरे, हरि लम्साल र दीपक शर्माको संगीतमा पहिलो एल्बम बजारमा आएको थियो । त्यसपछि उनले दीपक शर्माको मात्र संगीतमा ‘नूतन–२’ बजारमा ल्याइन् । झनै उनलाई संगीत उद्योगमा आफ्ना सिर्जनाले सफल यात्रामा अगाडि बढायो । यी दुई त्यसपछि ‘नूतन कृति’ बजारमा ल्याइन् । जुन एल्बममा संगीतकार सुनिल मास्केले एकल संगीत दिएका छन् । यो एल्बमपछि उनले सोचिन् सिर्जनाले मान्छेलाई सदैव जीवित राख्दो रहेछ । भौतिक शरीर नरहँदा पनि उसका सिर्जनाले समाजमा नयाँ आयाम थपिरहने काम गर्दोरहेछ । त्यही उर्जा मनमा बोकेर उनी इजरायलमा बसेरै भए पनि सिर्जनालाई आत्मसात गरिरहिन् ।
भमराको भुन भुन सुन्छु कोइलीको कुहुँ कुहुँ
चङ्गाजस्तै उड्दैछ मन आकाशमा फुरुरु फुरुरु
टिलपिल गर्छन् खुशीहरु विहानीको शीतजस्तै
अञ्जुलीमा फाट्छ प्रित जिन्दगीको रितजस्तै
सारङ्गीको ¥याइँ ¥याइँ सुन्छु माहुरीको घुनघुन
पात पात नाच्दै डुल्छु चिरविर चिरविर चरीजस्तै
प्रित गाँस्छु फूलसँगै इन्द्रेणीको रङ्गजस्तै
भमराको भुनभुन सुन्छु, कोइलीको कुहुँ कुहँु
……………..
माथि सिर्जनालाई हेर्दा उनले पछिल्लो समय बजारमा ल्याएको एल्बम ‘नूतन शैली’ पहिलो गीत थियो । जुन एल्बममा संगीतकार सुनिल मास्केको एकल संगीत रहेको छ । यो गीतमा प्रविशा अधिकारीले स्वर दिएकी छन् । नूतन शैलीको पहिलो गीत भए पनि एल्बमभित्र ५ वटा गीत समावेश गरिएको छ । भमराको भुनभुन, थाहा छैन के हुन्छ, देखेको छैन, कुक्क लाग्यो बाडुल्की, तिम्रो साथ भन्दा प्यारो गीतहरु एल्बममा समेटिएका छन् । जसमा तिम्रो साथ भन्दा प्यारो उनले आमालाई समर्पित गरेकी छन् । आमा सम्बन्धी शब्द लेखनमा गीतको सिर्जना भएको छ । त्यसो भन्दा उनकी आमा पनि सिर्जनालाई मन मुटुमा राखेर हिंड्ने अभियन्ता हुन् ।
गीतकार भुसाल समाज, समयअनुसार सिर्जना तयार पार्न सक्ने सर्जक हुन् । उनका सिर्जनाले मायाप्रेम, स्वदेशप्रेम भित्रका संवेदनाहरु नै बढी लेखिएको पाइन्छ । माटो र मुटुका गीत नै सबैको लागि उत्कृष्ट बन्न पुगेको हुन्छ । गीतकार भुसालको पनि सिर्जनाको यात्रा माटो र मुटुकै संवेदनाभित्र रुमलिएको पाइन्छ । समाजमा भोगेका घटनाक्रमलाई उनले फरक तरिकाले प्रस्तुत गर्न सफल भएकी छन् । आफ्नो भोगाइ हुन् या अरुका भोगाइ उस्तै उस्तै देखिन्छन्, प्राय सबैका जिन्दगीका उतार चढाव मिल्दोजुल्दो हुने भएर नै होला उनका सिर्जनाले धेरैको मन जित्न सफल भएको छ । जसलाई उनलाई अब्बल सर्जक बनाइदिएको छ ।