" />
वीरगन्ज । लकडाउनका कारण अन्य सवारी साधन नपाएपछि कन्टेनरभित्र लुकेर ५२ जनालाई कवारेन्टाइनमा राखिएको छ । काठमाडौं, भरतपुर, हेटौंडाबाट मंगलबार मध्यरातमा वीरगन्ज आइपुगेका ५२ जनालाई क्वारेन्टाइनमा राखिएको हो । कन्टेनरमा बसेर आएका उनीहरुलाई प्रहरीले वीरगन्जको घन्टाघरमा नियन्त्रणमा लिएको थियो । लकडाउन छलेर मालवाहक कन्टेनरभित्र लुकेर वीरगन्ज आएका ५२ जनालाई बुधबार बिहान क्वारेन्टाइनमा राखिएको छ ।
काठमाडौंको सतुंगलस्थित इन्जिम हार्डवेयरमा आल्मुनियम अनलोड गरी मंगलबार वीरगन्ज फर्किने क्रममा ना५ख ९५५२ नम्बरको खाली कन्टेनरमा काठमाडौं, चितवन र हेटौंडाबाट ५२ जना यात्रु चढेका थिए। लकडाउन उल्लंघन गरी मालवाहक कन्टेनरमा यात्रु आइरहेको जानकारी पाएपछि मंगलबार राति पर्सा प्रहरीले उनीहरुलाई घन्टाघरबाट नियन्त्रणमा लिएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।
सबै यात्रु र चालकलाई बुधबार बिहान क्वारेन्टाइनमा पठाइएको बस्नेतले बताए। जसमा ३ बालबालिका, एक महिला र चालक गरी ५३ जनालाई क्वारेन्टाइनमा पठाएका छौँ, सहायक प्रजिअ बस्नेतले भने, यात्रुहरुको स्वास्थ्य परीक्षण गरेपछि के गर्ने भन्ने निर्णयमा पुग्छौँ।
प्रहरी नायब उपरीक्षक विरेन्द्र शाहीका अनुसार लकडाउन उल्लंघन गरी खाली कन्टेनरमा यात्रु लुकेर वीरगन्ज आएको सूचना पाएपछि प्रहरीले मंगलबार मध्यरातमा वीरगन्जको घन्टाघर चोकबाट उक्त मालवाहक कन्टेनर नियन्त्रणमा लिएर चेक गरेको थियो। कन्टेनर खोलेर हेर्दा ५२ जना भित्र बसिरहेका थिए। लरी चालक शिवनारायण महरालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिव्यक्ति २ सय रुपैयाँ भाडा लिने गरी चालकले कन्टेनरमा चढाएको यात्रुले खुलाएका छन्। कन्टेनरमा आएका यात्रु पर्सा, बारा र रौतहटका स्थायी बासिन्दा हुन्। जीविकोपार्जनका लागि गएका उनीहरु सरकारले लकडाउन गरेपछि अन्य सवारीसाधन नपाएपछि कन्टेनरमा लुकेर आएको बताएका छन्।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारीसमेत रहेका बस्नेतले लकडाउनमा यात्रु ओसार्ने चालकलाई संक्रामक रोग ऐन र स्थानीय प्रशासन ऐन अनुसार कारबाही गरिने बताए।