" />
काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अहिलेसम्म ६ सय ३० जना कोभिड–१९ संक्रमित भर्ना भए । उनीहरुमध्ये २ सय ४४ जनालाई आईसीयू र ६३ जना भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्यो ।
भेन्टिलेटरमा राखेर उपचार गरिएका सबैलाई निमोनिया भएको थियो । त्यसमा पनि निमोनिया भइसकेर अस्पताल पुग्ने १२ जनाको मृत्यु भयो ।
‘संक्रमितहरु निमोनिया भइसकेपछि अस्पताल आउँदा मृत्यु बढेको छ’ टेकु अस्पतालका चिकित्सक डाक्टर अनुप बास्तोलाले भने, ‘निमोनिया भएर भेन्टिलेटरमा पुगेका संक्रमितहरुको उपचार गर्न धेरै गाह्रो छ ।’
डाक्टर बास्तोलासँग त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका कोभिड संयोजक तथा छाती रोग विशेषज्ञ डाक्टर सन्तकुमार दास पनि सहमत छन् । उनका अनुसार निमोनिया भएकाहरुको उपचार प्रकिया लम्बिनुका साथै बचाउन सकिने सम्भावना अत्यन्तै कम हुन्छ ।
‘कतिपय निमोनिया भएकाहरु त आईसीयूमा पुर्याउन नपाउँदै बित्छन् । पछिल्लो एक महिनामा अस्पतालको कोभिड भेन्टिलेटरमा भर्ना भएका अधिकांश संक्रमित निको भएर फर्किएका छैनन्, तिनीहरु सबैलाई निमोनिया भएको, उनले बताए ।
‘होम आइसोलेसनमा बस्नेले लगातार अक्सिजको लेभल नापिरहनुपर्छ, आफूलाई सास फेर्न असहज हुनासाथ डाक्टरसँग सल्लाह लिनुपर्छ’ श्वासप्रश्वास रोग विशेषज्ञ प्रा. डा. मिलेशजंग सिजापती बताउँछन् ।
कोरोना भाइरसको संक्रमणका कारण फोक्सोमा पहिले नै असर गरिसकेको हुन्छ । तर, कतिपय अवस्थामा निमोनिया विकास भइसक्दा पनि खोकी लाग्ने या ज्वरो आउँदैन । कतिपयको निमोनिया पत्ता लगाउन सिटी स्क्यान, रगत र शरीरमा अक्सिजनको मात्रा जाँच गर्नुपर्छ । त्यसैले कोरोना संक्रमितलाई सामान्य खोकी लागेर ज्वरो आएको छ भने तत्काल अस्पताल जानुपर्ने उनले बताए ।