" />
काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेसँगै काठमाडौंका अस्थायी बासिन्दा गत चैतमा गृहजिल्लातिर लागेका थिए । कोही पैदल हिँडेरै गाउँसम्म पुगे, कसैले मालवाहक सवारी साधनमा कष्टपूर्ण यात्रा गरे ।
सरकारले ८० दिनको लकडाउनपछि असार १ गतेबाट जिल्लाभित्र जोर–बिजोर प्रणाली लागू गर्दै लकडाउनलाई खुकुलो बनाएको छ । सीमित जनशक्ति राखेर उद्योग तथा कार्यालयहरु पनि खुल्न थालेका छन् । र, सरकारी कार्यालय एवं पसल–व्यवसायहरु खुल्न थालेपछि विभिन्न जिल्लामा गएका मानिसहरु उपत्यका फर्किन थालेका छन् ।
तर, उपत्यका छिर्ने मुख्य नाका नागढुंगाको दृश्य हेर्दा काठमाडौं फर्किन सजिलो चाहिँ छैन ।
सरकारको अदुरदर्शी, अव्यवहारिक एवं लापरवाह निर्णयका कारण उपत्यका छाड्दा जनताले जसरी सास्ती भोग्नुपरेको थियो, अहिले काठमाडौं फर्कंदा पनि त्यस्तै सास्ती व्यहोर्नु परिरहेको नागढुंगामा प्रष्टै देखियो ।
काहीँ नभएको चेकिङ नागढुंगामा
लकडाउन खुकुलो भएसँगै काठमाडौंमा सरकारी कार्यालय र निजी पसलहरु खुल्न थालेको सुनेपछि सुर्खेतका रमेश गुरुङ शनिबार काठमाडौंका लागि हिँडे । एक निजी विमान कम्पनीमा कार्यरत उनलाई कम्पनीले बोलाउन थालिसकेको थियो ।
‘काठमाडौं आउनलाई पास चाहिन्छ भन्ने सुनेको थिएँ’, उनले सुनाए, ‘प्रशासनमा जाँदा पास लिनलाई दुई तीन दिन लाग्ने थाहा पाएँ ।’
वडाको सिफारिस, आरडीटी परीक्षणसहित अन्य झन्झटिलो प्रक्रियामा पर्दा समय लाग्ने भएपछि उनले त्यतिकै हिँड्ने निधो गरे ।
‘जोर–बिजोर अनुसार चलाउन मिल्ने बाइकमा हिँडे, बाटोमा कतै पनि केही सोधपुछ भएन’, गुरुङले भने, ‘एकैपटक काठमाडौंको चन्द्रागिरि नगरपालिका, नागढुंगा नजिक सिस्ने खोलामा आइपुगेपछि रोकिएँ ।’
पास नभएको भन्दै उनलाई प्रहरी अधिकृतहरुले आइतबार अपरान्ह सुर्खेतै फर्किन निर्देशन दिए । ‘बाटोमा कतै पनि चेक नभएपछि काठमाडौं पुगिने रहेछ भन्ने लागेको थियो’, उनले भने, तर, ‘काठमाडौं छिर्नेबेलामा कडा छ भन्ने थाहै भएन । उतै नरोक्दा दुःख पाइयो ।’
प्रहरीले सुर्खेत फर्किन भने पनि गुरुङ मान्ने पक्षमा थिएनन् । ‘यहाँसम्म आइपुगेपछि फर्किने भन्ने कुरै हुँदैन, हिँडेर भए पनि गइन्छ’, उनले भने ।
दोलखा घर भएका नवीनकुमार पाख्रिन विरामी श्रीमतीलाई लिएर दुई दिनअघि नुवाकोटस्थित ससुराली गएका थिए । घर जाँदा पाख्रिन दम्पत्तिलाई न कसैले पासबारे सोधीखोजी गर्यो, न उनीहरुले दुईजना किन चढेको भन्ने प्रश्नको सामना नै गर्नुपर्यो ।
उनी भन्छन्, ‘बुढीलाई माइत पुर्याउन जाँदा केही भएन, फर्किँदा पनि केही नहोला भन्ने सोचेर आएँ ।’
नागढुंगामा आइपुगेपछि भने पाख्रिन पनि प्रहरीको फन्दामा परेका छन् । ‘पहिल्यै चेक भएको भए पास बनाएर आउँथे, प्रहरीले व्यर्थै दुःख दियो’, पाख्रिनले सुनाए, ‘अब केही घन्टा बसेर जसरी पनि घर जाने हो ।’
फर्काइएकै मध्येमा थिए, उद्योग मन्त्रालयका सुपरभाइजर डोलप्रसाद आचार्य । मन्त्रालयकै परिचयपत्रका आधारमा हिँडेका उनी नागढुंगामा रोकिए । ‘हाम्रो गाउँपालिकामा कोरोनाको संक्रमण पनि छैन, बाटोमा ज्वरो नाप्ने अथवा अन्य कुनै परीक्षण पनि भएन’, उनले सुनाए, ‘त्यसैले यही परिचयपत्रकै आधारमा आएको हुँ ।’
‘आर्थिक वर्षको क्लोजिङको समय आएकाले अफिसले बोलाएर फर्किएँ’, आचार्यले भने, ‘यहाँ केही असमझदारी भयो, प्रहरीसँग समन्वय गरिरहेका छौं ।’