" />
‘सकम्बरी’ गीतलाई लिएर भइरहेको विवादमा गायक प्रकाश सपुतले माफी मागेका छन् । फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफ्नो सिर्जनाले चोट पुगेका सबैप्रति क्षमा मागेका हुन् । उनी लेख्छन्, ‘मेरो सिर्जनाले प्रत्यक्ष÷अप्रत्यक्ष जो जसलाई चोट पुगेको छ, अपमानजनक महसुस भएको छ, सबैसँग क्षमा चाहन्छु । रात्रिकालीन मनोरञ्जन व्यवसायी संघलाई सम्बोधन गर्दै लेखेको स्टाटसमा उनले आफूले पाँच वर्ष सो क्षेत्रमा काम गर्दा अपमानजनक दृष्टिकोण खेपेको अनुभव पनि उल्लेख गरेका छन् । ‘कसैलाई होच्याएर, आफू अग्लिनु छँदै छैन, कसैलाई असफल बनाएर सफल हुनु छँदै छैन । कमजोरी छैन भन्दिनँ, छ तर सकीनसकी जानीनजानी गर्न खोजेको चाहिं समाजका अँध्यारा कथाहरु देखाएर उज्यालोतिर लाग्न प्रेरित गर्ने भन्ने हो,’ उनले लेखेका छन् ।
रात्रिकालीन व्यवसायी संघले विज्ञप्ति जारी गर्दै सपुतलाई उक्त गीत हटाउन र नहटाए आन्दोलनमा उत्रिने चेतावनी दिएको थियो । यो चेतावनीको पृष्ठभूमिमा गायक सपुतले प्रष्टीकरणसहित माफी मागेका हुन् । उनले अनलाइनखबरसँग कुरा गदै पनि गीतमार्फत पितृसत्तालाई प्रश्न गरेको बताएका थिए । साथै, विरोध गर्नेहरुको कलाचेतमाथि प्रश्न उठाएका थिए । गीतले रिलिज भएको सात दिनमै एक करोडभन्दा बढी भ्यूज प्राप्त गरेको छ ।