" />
धनुषाको जनकपुरधाममा दाइजोको निहुँमा श्रीमान र परिवारका सदस्यले आगोमा जलाएर हत्या प्रयास गरेको पीडित महिलाले बताएकी छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२० देवपुरा रुपैठाकी २८ वर्षीया श्वेता झाले आफ्नो हत्या प्रयास भएको बताएकी हुन् । प्रादेशिक अस्पताल जनकपुरमा उपचाररत श्वेताले श्रीमान राजीव, ससुरा शिवशंकर झा, सासु, देवरलगायतले कुटपिट गर्दै शरीरमा आगो लगाइदिएर हत्या प्रयास गरेको बताइन् । ‘हाम्रो विवाह भएको १० वर्ष वितिसक्यो । दाइजोमा स्वीकारेको ३ तोला सुन अहिलेसम्म नदिएको भन्दै श्रीमानसहित घरपरिवारले मलाई यातना दिँदै आएका थिए,’ श्वेताले अनलाइनखबरसँग भनिन्, ‘अहिले आगो लगाएर मेरो ज्यानै लिन खोजे’ घटना वैशाख १ गते नयाँ वर्षको दिन हो । राजीवले ९ वर्षीय छोरालाई कुटपिट गरिरहेका थिए । त्यसलाई रोक्न खोज्दा राजीवले भाइ, बुबा र आमाको सहयोगमा आफूलाई पनि कुटपिट गर्दै आगोले जलाइदिएको श्वेताको आरोप छ । घटना थाहा पाएपछि भारत बिहारको दरभंगास्थित पोठिया गाउँ माइत रहेकी श्वेताका बुबा जयकुमार झा, भाइलगायतका आफन्तले उनलाई प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गराएका थिए । उपचारमा संलग्न चिकित्सकका अनुसार श्वेताको घाँटीभन्दा तल शरीरको ३५ प्रतिशत भाग जलेको छ । विवाहको बेला माइती पक्षले २ लाख भारतीय रुपैयाँ दिएको थियो । तर अहिलेसम्म ३ तोला सुन नदिएको भन्दै पटक–पटक आफूलाई यातना दिँदै आएको श्वेताको भनाइ छ । विवाहपश्चात् आफ्नो बुबाले निरन्तर राजीव र उनको परिवारलाई आर्थिक सहयोग गर्दै आएको श्वेताको भनाइ छ । धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले पीडित परिवारबाट उजुरी नपरेको र औपचारिक जानकारी नआएको बताए । यद्यपि विभिन्न माध्यमबाट जानकारी पाएपछि अनुसन्धान गरिरहेको उनले बताए ।