" />
सन्तोष केसीको ‘सासु बुहारीको कलह’ सार्वजनिक
काठमाडौं । पछिल्लो समय सांगीतिक बजारमा तीज विशेष गीतहरुले स्थान ओगटिरहेका छन् । यसै क्रममा सांगीतिक क्षेत्रमा लामो समयदेखी निरन्तर लागेका गायक एवं सर्जक सन्तोष केसीले पनि नयाँ तीज गीत सार्वजनिक गरेका छन् । ‘सासु बुहारीको कलह’ बोलको सार्वजनिक गीतमा सन्तोष केसी, राधिका हमाल र शान्तीश्री परिवारको स्वर रहेको छ । गीतमा शब्द तथा संगीत समेत स्वयं सन्तोष केसीको नै रहेको छ । कमल सौरागले एरेन्ज गरेको गीतलाई कुमार रानाले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । गीतलाई मारुनी डिजीटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
माइती र चेलीबीचको प्रेम र पारिवारिक कलहको कथा गीतमा देखाइएको छ । अत्यन्तै मर्मस्पर्सी कथामा अडियो र भिडियो तयार भएको छ । बुहारीलाई सासुले गरेको अपहेलना पछि सिर्जना हुने परिस्थीलाई देखाइएको छ । गीतमा सन्तोष पन्त, हिउँवाला गौतम, संगम भण्डारी, अन्जु महर्जन, रमेश केसी लगायतको जिवन्त अभिनयले पनि भिडियोलाई सशक्त बनाएको छ । राजेश घिमिरेले छायांकन गरेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन् । प्रकाश भट्टको निर्देशकिय क्षमताले पनि भिडियोलाई उत्कृष्ट बनाएको छ । गीतको सम्पूर्ण पक्ष निकै दमदार रहेको छ ।
सबै पक्षबाट उत्कृष्ट बनेको गीतलाई दर्शक श्रोताले पनि रुचाइदिएका छन् । गीत यतिबेला संगीत तर्फबाट युट्युबको ५ नम्बर ट्रेण्डिङमा पर्न सफल भएको छ । यो समाचार तयार पारिरहेको समयमा ७ लाख बढी भ्यूज आइसकेको उक्त गीतलाई ‘वास्तविक तीज गीत’ सुन्न पाइयो भन्ने भावका कमेन्ट आएका छन् ।