" />
काठमाडौं । कोभिड–१९ को महामारीबाट अप्ठ्यारोमा परेका कलाकारहरुलाई गोरखा सांस्कृतिक समाजले दोस्रो चरणमा राहत प्रदान गरेको छ । समाजले असार १९ गते आफ्नै कार्यालयमा बोलाएर गोरखाली कलाकारहरुलाई राहत प्रदान गरिरहेको छ । दोस्रो चरणको राहत प्याकेजमा ५० जना कलाकारहरुलाई राहत दिएको हो । यो क्रम दैनिक रुपमा अप्ठ्यारोमा परेका कलाकारलाई दिँदै जाने समाजको ‘कोभिड–१९ राहत व्यवस्थापन समिति’का संयोजक सुनिल लामिछानेले बताए ।
बोधी सत्व विहार बुढानीलकण्ठको सहयोगमा समाजले आफ्ना सदस्य र सम्पूर्ण गोरखाली कलाकारलाई राहतको कार्यक्रममार्फत खाद्यन्न प्रदान गरेको हो । जसअनुसार एक बोरा चामल, ५ केजी गेडागुडी, ५ केजी दाल, २ लिटर तेल, १ केजी नून, १ क्रेट अण्डा र आधा केजी मसलासहितको प्याकेज प्रति व्यक्ति प्रदान गरेको हो । बोधी सत्व विहार बुढानीलकण्ठको तर्फबाट अभिषेक श्रेष्ठ र सुदीप खत्री उपस्थित भएका थिए । यसको समन्वय समाजका सदस्य हरिराम परियारको संयोजनमा भएको थियो । बोधीसत्व विहारकाको तर्फबाट भने हरि खनालले सहयोगको संयोजन गरेका थिए । बोधीसत्व विहारका तर्फबाट अभिषेक श्रेष्ठले सहयोगी दाताको भूमिका निर्वाह गर्न पाएकोमा खुशी प्रकट गर्दै आगामी दिनमा पनि अप्ठ्यारोमा परेका कलाकारहरुलाई पुनः सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए ।
यसभन्दा अघि पनि समाजले रु दुई हजार नगदसहित खाद्यन्न पनि बितरण गरेको थियो भने कार्यालयसम्म आउन नपाएका कलाकारहरुलाई रु.३ हजारका दरले नगदसमेत प्रदान गरेको थियो । गोरखा सांस्कृतिक समाजका अध्यक्ष सुमन पण्डितले सम्पूर्ण गोरखाली कलाकारहरु रोग र भोकबाट मर्न नपरोस् भन्ने अभियानका साथ अप्ठ्यारोमा परेका कलाकारलाई जुनकुनै बेला पनि समाजमा सम्पर्क गरेर राहत लिन अनुरोध गरेका छन् ।