" />
नेपाल एकीकरणको यात्रा प्रारम्भ भएको गढी, मनमोहक पर्यटकीय क्षेत्र, शक्ति देवी श्रीनाथ मण्डली
श्रीनाथकोट गोर्खा जिल्लामा पर्ने एउटा ऐतिहासिक महत्व बोकेको ठाउँ हो । सिरानचोक गाउँपालिका वडा नं. ७ मा पर्ने यो कोट नेपाल एकीकरणको यात्रा प्रारम्भ भएको स्थानका रुपमा परिचित छ । पूर्वमा दरौंदी पारि ताकुकोट, सुलिकोट पश्चिममा चेपे नदी, राइनासकोट, उत्तरमा अजिरकोट र दक्षिणमा दरौंदी नदी वारीका मिर्कोट, धुवाँकोट, लिगलिगकोट र हर्मीकोटको बीचमा रहेको सबैभन्दा अग्लो स्थानको नाम हो श्रीनाथकोट अर्थात् सिरानचोक दरबार । यो समुन्द्र सतहबाट करिब १९७४ मीटरको उचाइमा रहेको छ ।
ऐतिहासिक चिनारी तथा नामाकरण
ऐतिहासिक, पुरातात्विक गढीका रुपमा यसलाई लिइएको छ । यहाँ मूलकोट, जेठो कोट, माइलो कोट, कान्छो कोट गरी ३ वटा सैन्य दरबारको अवशेष भेटिन्छन् । त्यस्तै श्रीनाथ बाबा आश्रम, श्रीनाथ मण्डली देवीको मन्दिर र दुई किलोमिटरको उत्तर पूर्वमा रहेको छेंडा भन्ज्याङको जोगी गुफा र महादेव शिवालयसमेत रहेको छ । सिरानचोक नामाकरण सम्बन्धमा विभिन्न भनाईहरु रहेका छन् जसमध्ये एउटा प्रचलित भनाई अनुसार सिरानचोकको पुरानो नाम स्यार्तन हो । स्यार्तनको अर्थ सबैको प्रिय अग्लो डाँडा भन्ने हुन्छ । वरिपरिका डाँडाहरु मध्ये, गोरखादेखि सबै भन्दा नजिकको अग्लो डाँडाको रुपमा चिनिने यस क्षेत्र नेपाल एकिकरणको प्रारम्भिक स्थान हो । तत्कालिन अवस्थामा गोरखा राज्य बचाउन वाइसे चौविसे राज्यहरुको आक्रमणबाट बच्नका लागि उनीहरु सँग लडाई गर्ने रक्षा किल्लाको रुपमा परिचित छ । वडाकाजी अम्मर सिंह थापाको बुबा बाघ भिमसेन (भिमसिंह) थापाले समेत नेतृत्व गरेको किल्लाको रुपमा परिचित छ । गोरखा राज्यको निर्माणको क्रममा वि.सं. १६१६ देखि १८३७ सम्म विभिन्न पटक चौविसे राज्यहरुसँग लडाई भएको थियो । सिरानचोक गढीमा अन्तिम पटक वडाकाजी अम्मर सिंह थापाको नेतृत्वमा चौविसे राज्यहरुलाई पराजित गरिएको थियो । त्यसपछि गोरखा राज्यको सिमाना चेपे र मस्र्याङदी नदीको किनार पार गरी अगाडी बढेको ईतिहासमा पाइन्छ । बाघ भिमसेन थापा र वडाकाजी अम्मर सिंह थापाको जन्म सिरानचोकमा नै भएको देखिन्छ र तत्कालिन गोरखा राज्यका सेना प्रमुख झागल गुरुङको जन्मस्थल समेत सिरानचोक रहेको इतिहास छ । हाल ऐतिहासिक गढीको नामबाट नै सिरानचोक गाउँपालिका नाम राखिएको छ ।
श्रीनाथ मण्डली देवीको शक्तिपिठ
प्राचिन इतिहासलाई हेर्दा परापूर्बकालमा नाथ सम्प्रदायका एक जना जोगीले सिरानचोकमा मण्डली नामकी देवीको मुर्ति स्थापना गरी उक्त मूर्तिमा नित्य पूजा प्राथना गर्ने गर्दथे । उक्त मण्डली देवीको मन्दिरमा श्रीनाथ बाबाले दैनिक पूजा आरधना गर्ने भएकाले उक्त मन्दिरको नाम पनि श्रीनाथ मन्डली रहन गएको हो भन्ने भनाइ पनि छ । इतिहासकारहरुले यो गढी र श्रीनाथ मण्डली देवीको मन्दिर चौबसी राज्यकालमा स्थापना भएको मान्दछन् । द्रव्यशाहको पालामा गणेश पाँडेको मातहतमा गएको गोरखाली फौजले सिरानचोकमा कब्जा जमाएपछि यो गोरखा राज्यको सामरिक महत्वको किल्ला बनेको थियोे । मण्डली देवी र श्रीनाथ बाबाको आश्रम लिएर १६ औं शताब्दीमा एक भण्डारी थरको राजाले सिरानचोक कोटमा राज्य स्थापना गरी आफ्नो राज्यलाई सिरानचोक कोट नामकरण गरेको पाइन्छ । प्राचिनकालमा स्थापन गरिएको श्रीनाथ मण्डली मन्दिरलाई तत्कालीन राज्यले इष्ट देवताको रुममा पूजा आजा गर्ने गरेको पनि पाइन्छ ।
अहिले श्रीनाथ मण्डली तथा कोट विकास समिति र स्थानीय समुदाय मिली पूजा र अन्य व्यवस्थापन सम्बन्धी कार्य गर्दै आएका छन् । खडेरीमा यस मन्दिरमा बली पूजा गरी जलधारा गरेमा पानी पर्ने विश्वास रहि आएको छ । जसले गर्दा यस देवीलाई किसानको देवीका रुपमा पनि चिन्ने गरिन्छ । यस मन्दिरमा नयाँ अन्नबाली चढाउने प्रचलन रही आएको छ ।
यहाँ खासै मूर्ति भने छैनन् । प्राकृतिक शिलालाई श्रीनाथ र मण्डलीको अलग अलग प्रतिक मानी पूजा गरिन्छ । पूर्व तर्फ पूरानो घण्ट अद्यापी देख्न सकिन्छ । यो स्थान चतुष्कोणाकार स्वरुपको छ । ढुङ्गा माटोको पर्खाल लगाई छाना विहिन रुपमा बनेको छ । स्थानको लम्बाई ११ मी ७० से.मी. चौडाई ८ मी. २० से.मी. र उचाई २ मी ३० से.मी. छ । यो स्थान दक्षिणाभिमुख छ । झ्याल ढोका सादा छन् स्थान वरिपरि बस्ने पाटीहरु बनाइएको छ । पूर्वतर्फ श्रृङ्गी ऋषिको नयाँ मूर्ति स्थापना गरिएको छ ।
श्रीनाथ मण्डलीमा नित्यपूजाको व्यवस्था छ । थालाजुङ्ग श्रीनाथकोट र हर्मी, छोप्राक मानिसहरु मिली पूजारीको खर्च बेहोर्दछन् । यहाँ न्वागी पर्वमा मेला लाग्ने गरेको छ ।
यस वर्षबाट गोरखाको श्रीनाथ मण्डलीलाई पहिलो पटक सवालाख रोट अर्पण गरिएको छ । श्री श्री गुरु गोरक्ष धाम सिद्वाश्रम केन्द्र गोरखाको आयोजनामा पहिलो पटक १ लाख २५ हजार रोट अर्पण गरिएको हो । गुरु गोरखनाथको बाल्यकालदेखिको क्रिडा स्थल भनेर परिचित मण्डलीलाई पहिलो पटक सवालाख रोट अर्पण गर्न लागिएको सिरानचोकको ऐतिहासिक खोज तथा अनुसन्धानकर्ता मोदराज पाण्डेले बताए ।
गोरखा दरबार र ऐतिहासिक सिरानचोक गढीबिच धार्मिक, साँस्कृतिक र ऐतिहासिक सम्वन्ध बलियो बनाउने हिसाबले मण्डलीमा रोट चढाउने कामको सुरुवात गरिएको सिरानचोक गाउँपालिका अध्यक्ष राजु गुरुङले बताए ।
यसको पर्यटकीय सम्भावना र महत्व
श्रीनाथ मण्डली थान तथा वरिपरिका कोट किल्लाहरु जिर्ण बन्दै गएका छन् । पर्यटकीय हिसाबले पनि सिरानचोककोटको अन्य महत्वपूर्ण वस्तुहरुमा दक्षिणतर्फ रहेका मुलकोट जेठो कोट माइलो कोट र कान्छो कोट छन् । यी कोटहरुमा पुराना संरचनालाई बचाउँदै नयाँ पर्यटकीय स्थानहरुको निर्माणमा गाउँपालिका र कोट व्यवस्थापन समिति जुटेको छ । मूलकोटमा झिगटीका टुक्राहरु पाइएबाट त्यहाँ दरबार रहेको र छाना झिगटीको भएको भग्नावशेषबाट थाहा हुन्छ । यस्तै दक्षिण पूर्वतर्फ शिवालय रहेको छ । ३ वटा कोटहरु केही दुरीको अन्तरमा रहेका छन् भने टुँटिखेल जेठो कोटसँगै अवस्थित छ ।
त्यहाँको पर्यटकीय सम्भावनालाई लिएर थालाजुङ नयाँबजारबाट केही माथिसम्म मोटरबाटो निर्माण गरिएको छ । मोटरबाटो सकिएसँगै ६ सय खुड्किला सिँढी चढेर मन्दिरमा पुग्न सकिन्छ । बाटोमा धारा र पाटीपौवाको पुनःनिर्माणको काम भइरहेको छ ।
त्यस्तै आरुबोटतर्फबाट मन्दिरसम्म नै मोटरबाटो पु¥याइएको छ । मन्दिर वरिपरि पिकनिक स्पटक बनाउने तयारी भइरहेको छ । चित्रेभागे तर्फबाट उकालो सिंढी चढेर जानका लागि बाटो बनाइएको छ ।
पर्यटकलाई आकर्षण गर्नका लागि टुँडिखेलसँगै टावरको निर्माण गर्ने योजना रहेको छ भने केही रिसोर्टहरुको अवधारणा पनि अगाडि ल्याइएको छ ।
यस श्रीनाथ मण्डली मन्दिरमा पुग्नका लागि गोरखाको बाह्रकिलो छेपेटार हुँदै तार्केडाँडा चित्रे भन्ज्याङ देखि भच्चेक जाने पक्की सडकको बीचमा यो कोट पर्दछ । त्यस्तै तनहुँको डुम्रे हुँदै पालुङ्टार, लिगलिगकोट हुँदै भच्चेकसम्म जाने पक्की सडकबाट यो मन्दिरमा पुग्न सकिन्छ ।
यहाँबाट गणेश हिमाल, बौद्ध हिमाल, मनास्लु हिमाल, अन्नपूर्ण र माछापुच्छ«्रे हिमालको दृश्यावलोकन गर्न सकिन्छ । तत्कालिन बाइसे चौविसे राज्य अन्तर्गत अजिरकोट ताकुकोट लिगलिगकोट, हर्मीकोट, माझकोट, धुवाँकोट, मिरकोट, भिरकोट, तान्द्राङकोट सुलिकोट, बारपाककोट, राइनासकोट, तनहुँसुरकोट आदि स्पष्ट रुपमा पाइन्छ । त्यस्तै गोरखा जिल्लाको सदरमुकाममा अवस्थित धार्मिक स्थल गोरखकाली मन्दिरमा, दक्षितर्फ रहेको छिमकेश्वरी मन्दिर र मनकामना मन्दिरसम्मका भूभाग देख्न सकिन्छ । त्यस्तै दूधपोखरीदेखि चेपे नदीका भूभाग, दरौंदी नदी वरपरका फाँटहरुको मनोरम अवलोकन गर्न सकिन्छ । वसन्त ऋतुमा नेपालको राष्ट्रिय फुल लालीगुँरास ढकमक्क फुलेर सिरानचोक डाँडालाई रातो घम्टो ओढाउँदा देखिने मनोहक देखिन्छ । यो स्थान चैत वैशाखमा वरपरका मानिसरहरु ऐंसेलु र काफल खान आउने गर्छन् भने मण्डली देवीको मन्दिरमा पूजा गर्न आउनेहरुको पनि भीड लाग्न थालेको छ ।