काठमाडौं । ट्राफिक प्रहरीले पठाओ राइडरलाई ज्याकेट र ट्राउजर (प्रोटेक्टिभ गेयर) लगाउन बन्देज लगाइएको छ । विकृति रोक्न राइड सेयरिङ कम्पनी पठाओसँगको सहमतिमै पठाओ भनेर चिनिने प्रोटेक्टिभ गेयर लगाउन रोक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
राइडरहरुले धेरै अफलाइन ट्रिप गर्ने गरेको र ज्याकेटकै कारण असुरक्षाका घटनाहरु धेरै भएपछि बुधबारबाट लागु हुने गरी यस्तो निर्णय भएको ट्राफिक प्रहरी प्रवक्ता श्यामकृष्ण अधिकारीले जानकरी दिए । अब बुधबारदेखि पठओ राइडरले पठओ भनेर चिनिने प्रोटेक्टिभ गेयर लगाउन पाउने छैनन्, लगाए कारबाही हुन्छ, प्रवक्ता अधिकारीले भने । पठाओ सञ्चालनमा रोक लगाउने विषय भने सत्य नभएको उनको भनाइ छ ।
राइडर र पठाओ यात्रीहरुको सुरक्षालाई ध्यानमा राख्दै ट्राफिक प्रहरीसँगको समझादरीमा यस्तो निर्णय भएको पठाओ नेपालले जनाएको छ । पठाओको ज्याकेटकै कारण राइडरलाई असुरक्षा भएको तथा अफलाइट यात्रु बोक्ने प्रचलन बढेपछि राइडरलाई प्रोटेक्टिभ गेयर नलगाउने नियम ल्याइएको पठोओकी मार्केटिङ म्यानेजर सुरक्षा हमालले बताइन् । अफलाइन यात्रु बोक्ने प्रचलनले बढ्दा यात्रुको बिमा नहुने र अन्य समस्याहरु बढेर गएको पाइएको अर्को सूचना जारी नहुन्जेलसम्म पठाओ लेखिएको ज्याकेट र ट्राउजर नलगाउन अनुरोध गर्दै पठाओले विज्ञप्तिसमेत जारी गरेको छ ।