" /> काठमाडौं–तराई मधेस द्रुतमार्गको भौतिक प्रगति सुस्त – News of Global

News of Global शनिबार, मंसिर १३, २०७७

काठमाडौं : काठमाडौंलाई तराईसँग छोटो दूरीमा जोड्ने काठमाडौं–तराई मधेस द्रुतमार्गको भौतिक प्रगति सुस्त देखिएको छ। नेपाली सेनाले जिम्मा लिएर काम सुरु गरेको चार वर्ष पुग्दा पनि सडकको प्रगति सुस्त देखिएको हो। सेनाका अनुसार हालसम्म भौतिक प्रगति १६.२ प्रतिशत छ। वित्तीयतर्फ ९.५२ प्रतिशत छ। आयोजनामा हालसम्म १६ अर्ब ६६ करोड रुपैयाँ खर्च भइसकेको छ।
यसको लागत एक खर्ब ७५ अर्ब रुपैयाँ छ। यस आयोजनाका लागि चालू आवमा पुँजीगततर्फ आठ अर्ब ८४ करोड र चालूतर्फ ९ करोड ८४ लाख रुपैयाँ बजेट विनियोजन भएको छ। सेनाले आर्थिक वर्ष २०८०/८१ मा द्रुतमार्ग निर्माण गर्ने लक्ष्य लिएको छ।

सेनाले द्रुतमार्ग निर्माणको जिम्मा पाएको तीन वर्षसम्म विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) उपलब्ध थिएन। २०७६ भदौमा मन्त्रिपरिषद्ले डीपीआर स्वीकृत गरेसँगै सडक निर्माणले गति लिन सुरु गरेको सेनाका सूचना अधिकारी सन्तोषवल्लभ पौडेलले बताए। ‘अन्तर्राष्ट्रिय परामर्शदाता छनोट गर्न समय लाग्यो।

कोभिड–१९ को कारणले निर्माणस्थलमा निर्माण सामग्रीको अभाव रह्यो’, पौडेलले भने, ‘डिजाइनको अभाव र विपरीत परिस्थितिका कारण निर्माणमा ढिलाइ भयो।’ जटिल पाटोको रूपमा रहेको सुरुङमार्ग निर्माण गर्ने कम्पनी सूचीकृत गर्ने कार्य सम्पन्न भएकाले पनि आयोजनाले गति लिने पौडेलको विश्वास छ। द्रुतमार्गले काठमाडौं तराईको दूरी ७२.५ किमिमा सीमित गर्नेछ। यो आयोजनामा ६.४१ किमिको तीनवटा सुरुङमार्ग, विभिन्न पुलले १०.५९ किमि सडक ओगट्नेछ। माटो काट्ने तथा भर्ने सडकको लम्बाइ ५५.५ किमि छ। जसअन्तर्गत आयोजनाको ४४.१ किमि सडकखण्डको सबग्रेड लेबल तयार गर्न माटो काट्ने तथा भर्ने काम सम्पन्न भएको छ। सबग्रेड लेबलमा ८८ प्रतिशत प्रगति हासिल भएको छ।

सुरुङ मार्ग निर्माण गर्न जिओटेक्निकल तथा जिओफिजिकल इन्भेस्टिगेसनका लागि राष्ट्रिय परामर्शदाता छनोट गरी त्यसको मूल्यांकन भइरहेको सेनाले जानकारी दिएको छ। जिओफिजिकल इन्भेस्टिगेसनअन्तर्गत महादेवटारमा नौ वटा, धद्रेमा पाँच वटा र लेनडाँडामा चार वटा गरी कुल १८ वटा बोर होल ड्रिलिङ कार्य अन्तिम चरणमा छ। ड्रिलिङ सम्पन्न भएका नमुना परीक्षणसमेत सुरु गरिएको छ।

सुरुङमार्ग निर्माणका लागि अन्तर्राष्ट्रिय निर्माण व्यवसायीको प्रारम्भिक सूची तयारी गरिसकिएको छ। ती कम्पनीसँग पूर्वठेक्कासम्बन्धी बैठक पनि भइसकेको छ। पुस १५ गतेसम्म सुरुङमार्गको ठेक्का लगाउने गरी सेनाले तयारी गरिरहेको छ। लक्ष्यअनुसार प्रगति हासिल भए चैत महिना सुरुङ मार्ग निर्माण सुरु गरिनेछ।

ढुंगा माटो तथा संरचना निर्माण गर्न २०७४÷७५ मा २० वटा र २०७५÷७६ मा १० वटा प्याकेजमा ठेक्का लगाइएको थियो। जसमध्ये १५ वटा प्याकेज सम्पन्न भइसकेको छ। न्यून प्रगति तथा साइट अवस्थाको कारण चार वटा प्याकेज स्थगनका लागि प्रक्रिया अघि बढाइएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार ११ वटा प्याकेजको ६ महिना ठेक्का समयावधि थप गरिएको छ। २०७६/७७ मा २० वटा राष्ट्रिय बोलपत्र र एक वटा अन्तर्राष्ट्रिय बोलपत्रदाता छनोट गरी ठेक्काको बन्दोबस्त गरिएको छ।

पुल निर्माणसम्बन्धी ६ वटा राष्ट्रिय बोलपत्र प्याकेजअन्तर्गत जिओटेक्निकल इन्भेस्टिगेसनका लागि राष्ट्रिय परामर्शदाता छनोट गर्न जारी गरिएको आशयपत्रबाट परामर्शदाता सूचीकृत गरिसकिएको छ। ती परामर्शदाताबाट आयोजनाको प्रस्ताव माग गरी त्यसको मूल्यांकन भइरहेको छ। आयोजनाका लागि आवश्यक सम्पूर्ण जग्गा अधिग्रहण भइसकेको छैन। आयोजनाबाट प्रभावित ८४ प्रतिशतले मुआब्जा प्राप्त गरिसकेका छन्।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]