" />
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को माधवकुमार नेपाल पक्षले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दीर्घकालीन सहकार्यको प्रस्ताव अघि सारेको छ । आगामी मंसिरमा महाधिवेशन गरेर एकल अध्यक्ष बनाउने प्रधाननमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावको काउन्टरमा नेपाल पक्षले दीर्घकालीन सहकार्यको प्रस्ताव प्रचण्ड समक्ष राखेको हो ।
नेकपामा ओलीमाथि प्रधानमन्त्री पद छाड्नुपर्ने दबाब छ । तर ओली अध्यक्ष र प्रधानमन्त्री दुबै पद नछाड्ने अडानमा छन् । बरु आगामी मंसिरमा महाधिवेशन गरेर अध्यक्ष बनाउने प्रस्तावमा प्रचण्डलाई मनाउने ओलीको प्रयास छ ।
तर माधव नेपाल समूहका नेताहरुले भने प्रधानमन्त्री ओलीले आफूमाथि परेको संकट टार्न मात्र मंसिरमा महाधिवेशनको प्रस्ताव अघि सारेको बताएका छन् । महाधिवेशनको मिति तोक्ने अधिकार केन्द्रीय कमिटीलाई मात्र भएको र गत माघमा बसेको केन्द्रीय कमिटी बैठकले २०७७ चैतमा गर्ने निर्णय गरेको भन्दै एक नेताले भने, ‘चैतमा त महाधिवेशन गर्न गाह्रो हुने अवस्थामा मंसिरको प्रस्ताव आफूमाथि आएको संकट टार्ने थापेको बल्छी मात्र हो ।’
एक पद छाड्न ओली सहमत नभए पार्टी स्थायी कमिटीले निकास दिनुपर्ने माधव नेपाल पक्षका नेताहरु बताउँछन् ।
उनीहरुको आसय ओली सहमतिमा नआए बहुमतका आधारमा भए पनि निर्णय गर्नुपर्ने एक नेताले बताए । नेपाल समूहका एक नेताले भने, ‘पार्टीलाई विधि र पद्धतिमा चलाउनुपर्छ । र, यसो गर्न तयार हुनुभयो भने प्रचण्डलाई महाधिवेशन र त्यसपछि पनि हाम्रो साथ रहन्छ ।’
त्यसो भएमा आगामी महाधिवेशनमा पनि सहमतिका आधारमा जान नेताहरुले बताए । तपाईहरु प्रचण्डलाई महाधिवेशनबाट अध्यक्ष बनाउन पनि तयार हुनु भएको हो भन्ने प्रश्नमा नेपाल निकट एक नेताले भने, ‘यसबारे अहिले केही भनेका छैनौं । बेला आएपछि यस विषयमा छलफल गरौंला ।’ त्यसबेला प्रधानमन्त्री, पार्टी अध्यक्ष लगायतको पदहरु बाँडफाँट हुनसक्ने उनले बताए ।