" />
काठमाडौं । गायक चिरञ्जीवी भण्डारीको नयाँ गीत ‘बदमास’ आज सार्वजनिक भएको छ । संगीत गुरु राम सिटौलाको सभापतित्व एवं वरिष्ठ गीतकार डा.कृष्णहरि बरालको प्रमुख आतिथ्यतामा ‘बदमास’लाई सार्वजनिक गरिएको हो । कार्यक्रममा विशेष अतिथि वरिष्ठ गायिका कुन्ती मोक्तान, वरिष्ठ संगीतकार शिलाबहादुर मोक्तान, सिन्धुपाल्चोक जिल्ला सभापति विकास लामा, इन्द्रावती गाउँपालिका वडा नं. १० का अध्यक्ष जीवन कुमार थापा मगर, एडभेन्चर स्टार गौतम खाती लगायतको उपस्थिति रहेको थियो । गीत सार्वजनिक पछि अतिथिहरुले गायक भण्डारी र मोडल दिपेन्द्र सोनामको प्रशंसा गर्दै सफलताको शुभकामना दिएका थिए ।
चिरञ्जीवीले आफूले पुराना मोडलहरुलाई भिडियोमा खेलाउँदा एकपटक पनि सेयर नगरिदिएको हुँदा नयाँसँग काम गरेको बताए । नयाँलाई अवसर दिए भोलि ठूलो कलाकार बन्नेछ भन्ने उद्देश्यले दीपेन्द्र सोनामलाई लिएको बताए । भिडियोमा दिपेन्द्र सोनाम र सोनिका रोकायाको रोमान्स रहेको छ ।
बदमास गीतलाई भीम बिसीले संगीत भरेका छन् भने विक्रम सुन्दासको शब्द रहेको छ । पुष्कर सुनुवारको संगीत संयोजन रहेको उक्त गीतको म्यूजिक भिडियोलाई भने दिलिप अखेडाले निर्देशन गरेका छन् । उत्सव दाहालको छायाँकन रहेको भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका हुन् ।
प्रायः सबै विधाका गीत गाइसकेकायुवा गायक चिरञ्जीवी भण्डारी आफ्नो बिल्कुलै नौलो स्वाद बोकेको गीतको म्युजिक भिडियो मार्फत दर्शकमाझ आएका छन् । ‘बदमास’ ले नयाँ स्वाद दिएको बताउँदै गायक भण्डारीले यो गीतले संगीतकर्मीबीचमा नयाँ ट्रेन्ड स्थापित गर्ने बताए ।
कार्यक्रममा गीतको अडियो भिडियोसँग सम्बन्धित स्रष्टा एवं कलाकारलाई मायाको चिनो प्रदान गरिएको थियो भने संगीत गुरु राम सिटौलालाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । यो भिडियो ओएसआर डिजिटलको च्यानलबाट सार्वजनिक गरिएको हो ।